गोरखा, १५ पुष । गोरखामा गुरुङ समुदायले आज तमु ल्होसार परम्परा झल्कने गरी धुमधामका साथ मनाएको छ । गुरुङ समुदायमा पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतुले पुस १५ गतेका दिन तमु ल्होसार पर्व मनाउने चलन छ ।

गुरुङ समुदायहरुले गोरखा सदरमुकाम स्थित रङशालामा बिभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेर पर्व मनाएको हो । कार्यक्रम अघि तमु ह्युल छोजः धिको सभाहलबाट गुरुङ समुदायको पोशाकमा सजिएर गोरखा सदरमुकाममा ¥याली निकालिएको थियो ।

¥याली हरमटारीचोक, कालिमाटी बसपार्क हुदैँ सदरमुकाम परिक्रमा गरी रङशाला स्थित खेलकुद मैदानमा पुगेर कार्यक्रम गरिएको हो । त्यस्तै आज नै ल्होसार पर्वको अबसर पारेर गण्डकी गाउँपालिकामा समेत शुभकामना आदानप्रदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ । गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिएका थिए ।

यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गरिन्छ । सरकारले तमु ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएका अवसरका रूपमा हर्षोउल्लासका साथ मनाउने गरिन्छ ।

गुरुङ समुदायको बाहुल्य रहेका गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा यो पर्व धूमधामसँग मनाउने गर्दछन् । ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।





