गोरखा, १४ पुष । गोरखाको बारपाक सुलिकोट गाँउपालिकाको बारपाकमा भएको आँखा शिविरमा ७० जनाको मोतियाविन्दुको निः शुल्क शल्यक्रिया गरिएको छ ।
गाँउपालिकाको आयोजनामा वडा नंं. १ र २ बारपाकमा पुष ११ गतेदेखि ३ दिनसम्म चलेको शिविरमा ४ शय ५० जनाको आँखा परिक्षण भएकोमा ७० जनाको शल्यक्रिया गरिएको हो । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भएको शिविर आयोजनामा वारपाकको वौद्ध बहुउदेश्यीय सहकारी संस्था, मुटु फाउण्डेशन काठमाण्डौं र मनोज एशोसिएसन फ्रान्सले सहयोग गरेका हुन् ।
शिविरमा एकजना बहिराको ७७ वर्षीय थरमाया बि. क को दुवै आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार बारपाककी ७७ वर्षीय थरमाया बि. क बहिरा भएका कारण शल्यक्रिया गर्न हिचकिच्चाउनु भएको बताउनुभयो । तर, शल्यक्रिया गरेर आँखाको पट्टी खोलेपछि दृष्टि फिर्ता पाएमा उहाँले नाँच्दै खुशी ब्यक्त गर्नुभयो ।
यस्तै ९७ वर्षकी बृद्धाको पनि मोतियाविन्दुको शल्यक्रिया भएको निरिक्षक भट्टले बताउनुभयोे । बारपाककी मनमाया घलेको देब्रे आँखाको शल्यक्रिया गरिएको हो । मोतियाविन्दुका कारण विगत ४ वर्षदेखि उहाँका आँखाले काम गर्न छोडेका थिए ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका कार्यकारी निर्देशक एवम् नेत्ररोग विशेषज्ञ डाक्टर कमलबहादुर खड्काको नेतृत्वको टोलीले आँखा परिक्षण र शल्यक्रिया गरेको उहाँले बताउनुभयो ।
शिविरमा आँखा परिक्षण गराएकाहरुलाई चस्मा र अन्य आवश्यक औषधी निशुल्क वितरण गरिएको थियो भने टाढाबाट आएकाहरुलाई खानपान र बसोबासको पनि ब्यवस्था गरिएको थियो । बारपाक सहित लाप्राक, घ्याच्चोक, सौरपानी, सिम्जुङ लगायत ठाऊँका बासिन्दाले शिविरमा आएर सेवा लिएका थिए ।