गोरखा, ११ पुष । गोरखा शहिदलखन गाँउपालिका स्थित प्रसिद्ध मनकामना मन्दिरको केबलकारमा प्राविधिक समस्या आएको छ । हिजो साँझदेखी केबलकारको प्यानल बोर्डमा समस्या आएकाले केबलकारको सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो ।
आइतबार साँझ ७ बजेर ५ मिनेटमा केबलकारको प्यानल बोर्डमा समस्या आएको स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिनुभयो । ‘साँझ एक्कासी राष्ट्रिय प्रशारणको लाईन यो र बन्द भयो । ’ उहाँँले भन्नुभयो ‘ त्यस पछि चलाउने प्रयास गर्दा प्यानल बोर्डमा नै समस्या देखिए पछि केही दिनका लागि बन्द गरेका हौँ ।’
उहाँका अनुसार साँझ लाईन गए पछि केबलकार चलाउन खोज्दा नचलेर प्यानल बोर्ड चेक गर्ने क्रममा भित्र अन्य समस्या पनि देखिएको हो । समस्या देखिए पछि यात्रुको सुरक्षाका लागि केबलकार बन्द गरिएको जनाएको छ ।
आइतबार केबलकारबाट मात्रै ५ हजार भन्दा बढी भक्तजन मनकामना दर्शनका लागि पुगेका थिए । साँझ फर्कनका लागि लाम लागेका केही यात्रुलाई केबलकार मार्फत र केही यात्रुलाई सवारी साधानको ब्यवस्था मिलाएर चेरेश स्टेशन झारीएको थियो । त्यस मध्ये पनि केही यात्रुले मनकामना नै बस्ने भने पछि होटलको ब्यवस्थापन गरिएको स्टेशन म्यानेजर शेरचनले बताउनुभयो ।
प्यानल बोर्डमा समस्या आए लगत्तै उत्पादक कम्पनी अष्टेलियाको डोपलमेयरलाई खबर गरिएको र केही दिन भित्रै कम्पनीबाट प्राविधिक सहित सामान आउने सञ्चालक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सामान सहित प्राविधिकहरु नेपाल आउने तयारी गरिरहेका कारण केही दिनभित्रै मर्मत पछि सञ्चालनमा आउने छ ।
केबलकार प्रशासनले आज एक सूचना जारी गर्दै यसबाट पर्न गएको असुबिधा प्रति हामी क्षमाप्रार्थी छौं भन्दै यथासक्दो चाँडो सेवा सुचारू गर्ने प्रतिबद्वता ब्यक्त गरेको छ ।