धनुषा ,२६ मंसिर । श्रीमतीलाई घाइते अवस्थामा अस्पताल पुर्याएका एक व्यक्तिलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ ।गएराती घाइते अवस्थामा उपचारका लागि जनकपुरको काव्या अस्पताल पुर्याइएकी धनुषाको बटेश्वर गाउँपालिका वडा नं ५ शान्तिपुर निवासी २७ वर्षीया रितादेवी यादवको उपचाराकी क्रममा मृत्यु भए पछि प्रहरीले उनका श्रीमान बिरेन्द्र यादबलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, अभियुक्त बीरेन्द्रले आफ्नी श्रीमती रितादेवीलाई आइतबार राति ११ बजेको समयमा घरको ओछ्यानमा सुतिरहेको अवस्थामा धारिलो हतियार बन्चरो प्रहार गरेर घाइते बनाएका थिए। त्यसपछि उनले घाइते श्रीमती रितादेवीलाई उपचारका लागि भन्दै जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । तर त्यहीं उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रितादेवीको उपचारका क्रममा मृत्यु भए पछि प्रहरीले अनुसन्धान गर्ने क्रममा श्रीमान बीरेन्द्र यादबमाथि शंका गरी पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ। प्रहरी नियन्त्रणमा पुग्नासाथ अभियुक्त बीरेन्द्रले आफूले नै श्रीमतीलाई बन्चरो प्रहार गरी घाइते बनाएर उपचारका लागि अस्पताल लागेको स्वीकार गरेका प्राप्त समाचारमा जनाइएको छ।
प्रहरीले घटनामा प्रयोग भएको भनिएको बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।उनीहरुका चार र ६ वर्षका दुई छोरा छन् ।
स्थानीयका अनुसार विरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि मात्र बीरेन्द्रले बिहेमा पाएको फर्निचरसहितका सामानसहित रितालाई उनको माइत महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबामा पुर्याएर छाडेका थिए । तर ससुराली पक्षकाले उनीहरुलाई सम्झाई बुझाइ गरेर घर फर्काएका थिए ।