गोरखा, २२ मङ्सिर । गोरखाको भीमसेन थापा गाउँपालिका भित्रका सामुदायिक बिधालयहरुमा अतिरिक्त शैक्षिक सुधारका लागि घुम्ती शिक्षक नियुक्त गरेर परिचालन गरिने भएको छ । चालु आर्थिक बर्षमा पालिका भित्रका सामुदायिक बिधालयमा अध्ययनरत बिधार्थीहरुको खेलकुद तथा संगीत क्षेत्रमा दक्षता हासिल गराउनका लागि गाउँपालिकाले नै घुम्ती शिक्षक नियुक्त गरेर परिचालन गर्न लागेको गाउँपालिका शिक्षा शाखाका प्रमुख यानबहादुर नेपालीले जानकारी दिनुभयो ।
गाउँपालिकाले घुम्ति शिक्षक व्यवस्थापन कार्यबिधि २०७९ अनुुसार शिक्षक नियुक्त पालिका भित्रका बिद्यालयहरुमा परिचालन गर्ने उहाँले बताउनुभयो । गाउँपालिका भित्रका सामुदायिक बिधालयहरुमा खेलकुद, संगीतमा अध्यापन गराउनका लागि सम्बन्धित बिषयमा दक्षता रहेका २ जना शिक्षक नियुक्त गर्ने तयारी गरीरहेको शिक्षा शाखा प्रमुख नेपालीले जानकारी दिनुभयो ।
पालिका भित्रका सामुदायिक बिधालयहरुमा निम्न माध्यामिक तहमा खेलकुद र संगीत बिधामा अध्यायन गराउन सक्ने योग्यता पुगेका व्यक्तिलाई नियुक्त गरेर बिधालयहरुमा घुम्ती शिक्षकको रुपमा अध्यापन गराउने उहाँको भनाई छ । शिक्षक नियुक्तीका लागि गाउँपालिका शिक्षा शाखाले आवेदन समेत माग गरिसकेको शिक्षा शाखा प्रमुख नेपालीले जानकारी दिनुभयो । यहीँ मसिंर मसान्त भित्रमा शिक्षक नियुक्त गरी सामुदायिक बिधालयहरुमा पठाउने उहाँले बताउनुभयो ।