Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

नेपाली टिम टीटूके पब्जी विश्वकपको फाइनल चरणमा प्रवेश


1.7K
Shares

नेपाली टिम टीटूके पब्जी विश्वकपको फाइनल चरणमा प्रवेश

काठमाडौं, १२ मंसिर। नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ ।

विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो । यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्यले यो सफलता दिलाएका हुन् ।

एल्लो ग्रुपमा रहेको टीटूकेले समूहमा रहेका १६ टिममध्ये तेस्रो हुँदै फाइनल चरणमा प्रवेश पाएको हो । जापानको आरसी टिमसँग समान २१४ अंक रहे पनि प्रदर्शनका आधारमा टीटूके भाग्यमानी बनेको हो । यो समूहबाट मलेसियाको गीक टिम २९२ अंक र मलेसियाको फोर एएमले २३१ अंकका साथ क्रमसः शीर्ष र दोस्रो स्थानमा रहेर फाइनल चरणका लागि छनोट भएका हुन् ।

तेस्रो संस्करणको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा पहिलोपल्ट नेपालबाट तीन टिम छनोट भएका हुन् । यसअघि नेपालको डीआरएसले मात्र खेलेको थियो । डीआरएस समूह रेडमा छैटौं स्थानमा रहेर सर्भाइभल चरणका लागि छनोट भएको छ । अर्को नेपाली टिम स्काईलाइट्ज समूह ग्रीनमा रहेर नवौं हुँदै सर्भाइभल चरणका लागि छनोट भएको छ ।

समूह चरण र सर्भाइभल चरणका खेलहरु मलेसियामा भइरहेको छ । तीन समूहमा शीर्ष चारदेखि एघारौं स्थानमा रहेका टिमबीच सर्भाइभल चरणमा प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धा मंगलबारदेखि चार दिनसम्म चल्नेछ ।

सर्भाइभल चरणमा पुगेका २४ टिममध्ये १६ टिमले अन्तिम अवसर चरणमा प्रवेश पाउनेछन् । बाँकी ८ टिम बाहिरिनेछन् । अन्तिम चरणमा १६ टिमबीच प्रतिस्पर्धा गरी पाँच टिमले फाइनल चरणमा प्रवेशका लागि अर्को अवसर पाउनेछन् ।

फाइनल चरणका लागि तीन समूहबाट शीर्ष तीन गरी ९ टिम र सिधै आमन्त्रण गरिएका दुई टिम छन् । बाँकी पाँच टिमको टुंगो लाग्न बाँकी छ । फाइनल चरणका खेलहरु इण्डोनेसियाको जाकार्तामा सन् २०२३ को ३ र ४ जनवरीमा सन्चालन हुनेछ ।

समूह चरणमा कुल पुरस्कार राशी २ लाख ५० हजार डलर रहेको छ । समूहको स्पर्धामा तेस्रो भएको टीटूकेले ८० हजार अमेरिकी डलर पुरस्कार पाउने निश्चित भइसकेको छ । फाइनल चरणमा उसको प्रतिस्पर्धाका आधारमा पुरस्कार बढ्दै जानेछ । फाइनल चरणको नतिजाका लागि मात्र १ लाख ५० हजार अमेरिकी डलर कुल पुरस्कार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology