गोरखा, १० मङ्सिर । यहीँ मसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गोरखा जिल्लामा प्रतिनिधिसभा समानुपातिक तर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सवैभन्दा धेरै मत पाएको छ । शुक्रबार जिल्लाको दुवै निर्वाचन क्षेत्रको समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक गर्दै जिल्ला निर्वाचन कार्यालय गोरखाले माओवादी केन्द्रलाई सवै भन्दाबढी मत प्राप्त भएको जनाएको छ ।
प्रतिनिधिसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको गोरखामा समानुपातिक तर्फ माओवादी केन्द्रले जिल्लाभर कुल ३७ हजार ४ सय ७१ मत प्राप्त गरेको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो । माओवादी केन्द्रले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १८ हजार ४ सय ७१ र क्षेत्र नम्बर २ मा १९ हजार मत प्राप्त गरेको हो । जिल्लामा प्रतिनिधिसभाको समानुपातिक तर्फ नेपाली काँग्रेस दोस्रो धेरै मत प्राप्त गरेको उहाँले बताउनुभयो । काँग्रेसले क्षेत्र नम्बर १ मा १५ हजार २ सय ७१ र क्षेत्र नम्बर २ मा ११ हजार ८ सय २२ गरी कुल २७ हजार ५ सय ५३ मत प्राप्त गरेको उहाँले बताउनुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला तेस्रो धेरै समानुपातिक मत प्राप्त गर्ने पार्टी बनेको छ । सूचना अधिकारी सुवेदीका अनुसार एमाले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ११ हजार ८ सय ९३ र क्षेत्र नम्बर २ मा ६ हजार १ सय ८५ गरी जिल्लाभर कुल १८ हजार ४ सय ४१ मत प्राप्त गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ७ हजार २ सय ४६ र क्षेत्र नम्बर २ मा ८ हजार ९ सय ९९ गरी कुल १६ हजार २ सय ४५ मत प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा समानुपातिक तर्फ कुल ५९ हजार ९ सय ४३ मत खसेको थियो भने क्षेत्र नम्बर २ मा ५४ हजार १ सय ७३ मत खसेको थियो । जिल्लामा मितेरी नेपाल पार्टीले क्षेत्र नम्बर २ मा एक मत पनि प्राप्त गरेन भने क्षेत्र नम्बर १ मा पिछडा बर्ग निसाद दलित जनजाती पार्टीले समानुपातिक तर्फ एक मत पनि प्राप्त गर्न नसकेको कार्यालयले जनाएको छ ।