गोरखा, ४ मङ्सिर : गोरखा जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि अहिले भइरहेको मतदानका क्रममा आज दिउँसो २ बजेसम्ममा ३० प्रतिसत मत खसेको छ । प्रतिनिधिसभा तर्फ २ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ ४ निर्वाचन क्षेत्र रहेको जिल्लामा दिउँसो २ बजेसम्ममा कुल मतदाताको ३० प्रतिसत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।
जिल्ला भित्र अहिलेसम्म शान्तिपूर्ण ढंगबाट मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २ सय २२ मतदान स्थल र ३ सय १७ मतदान केन्द्र्रमा निर्वाध रुपमा मतदान भइरहेको हो। बिहान ७ बजेदेखि जारी मतदानमा केही मतदान केन्द्रमा सामान्य विवाद बाहेक दिउसो २ बजेसम्म कुनै पनि मतदान स्थलमा अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
गोरखा जिल्लामा कुल २ लाख २० हजार ६३७ जना मतदाता छन् । गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ५७ हजार ३७५ जना पुरुष र ५८ हजार २२ जना महिला रहेका छन् । त्यस्तै गरी क्षेत्र नम्बर २ मा ५२ हजार ३९९ जना पुरुष र ५२ हजार ८४१ जना महिला रहेका छन् । जिल्लाको क्षेत्र नम्बर १ मा ९ वटा राजनीतिक दल र १ स्वतन्त्र तथा क्षेत्र नम्बर २ मा १० वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।