पोखरा,१ मंसिर । एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार दामोदर ‘बैरागी’ आफ्नै कारणले कमजोर सावित भएका छन् । स्वच्छ प्रतिस्पर्धा छाडेर विपक्षीमाथि व्यक्तिगत आरोप र लाञ्छना लगाउन थालेपछि उनी कमजोर देखिएका हुन् । ‘विपक्षीहरु मतदाताको मन जित्न छाडेर अनर्गल प्रचारमा ओर्लिनु भनेको हाम्रो जित सुनिश्चित भएको प्रमाण हो’,सराङकोटका युवा नेता बलराम तिमिल्सिनाले भने,‘हामी स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्छौँ,जनताको मन जितेर मत माग्ने हो,विपक्षीहरुको बर्बराहटलाई जनताले बुझेका छन् ।’
एमाले समूहले कास्की क्षेत्र नम्बर ३ मा वाम–लोकतान्त्रिकका उम्मेदवार रामजीप्रसाद बरालमाथि ‘साना व्यवसायी स्वरोजगार कोष’ मा ऋण चुक्ता नगरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो । कोषले निर्वाचन आयोगलाई पत्र लेख्दै रामजीको नाममा त्यस्तो केही नभएको उत्तर दिएको थियो ।
‘जीवन दाइ, धनी मान्छे हैन तर उहाँसँग इमान छ । उहाँको इमानमाथिको प्रहार एमालेलाई महँगो पर्छ’,उनले भने,‘यसको नजिजा मंसिर ४ मा देखिन्छ ।’ दामोदर बैरागी कस्तो मान्छे हो भन्ने जनताले बुझेकैले अघिल्लो चुनावमा आफ्नै वडामा सदस्यमा पराजित भएको उनको भनाइ थियो ।
चुनावी मैदानमा उत्रिएका रामजीले कृषि,पर्यटन र पूर्वाधार निर्माणलाई कास्की ३ को समृद्धिको आधार मानेका छन् । माछापुच्छेको काखदेखि फेवातालको किनारसम्म फैलिएको यो क्षेत्रलाई पर्यटनको मुख्य केन्द्र बनाउने, पर्यटनको लाभ सीमान्तकृत बर्गसम्म पु¥याउन उनीहरुलाई तालिम दिने,होमस्टे तथा पदयात्रा पर्यटनलाई चाहिने आवश्यक जनशक्ति उत्पादनको लागि तालिमको व्यवस्था गर्ने उनको प्रतिवद्धता छ ।
यसका अलावा, नयाँ पदयात्रा मार्गको खोजी,पर्यावरण मैत्री पर्यटन पूर्वाधार निर्माण,पर्यटन उद्योगमा स्थानीय उत्पादनको प्रयोगमा पनि उनले विशेष जोड दिएका छन् ।
‘हाम्रो क्षेत्रमा हुने पदयात्रामा यहीँका युवाहरुले गाइडको काम पाउन्,यहीँको उत्पादनको ब्रेकफास्ट बनोस्,यहीँ फलेका फलफूल र तरकारी उपयोग होस् भन्ने मेरो चाहना हो’,उनले भने,‘पर्यटन सबैको लागि हो भन्ने मान्यतालाई व्यवहारमा परिणत गर्न सीमान्तकृत वर्गका युवाहरुलाई तालिम प्रदान गरिने छ भने,उनीहरुलाई घरमै बसेर एउटा अधिकृत बराबरको आम्दानी गर्नसक्ने बनाइने छ ।’
रामजी त्यतिमै रोकिएनन् । ग्रामीण सडकहरुको स्तरोन्नति,बाह्रै महिना गाडी चल्ने सुरक्षित सडकलाई पनि उनले प्राथमिकतामा राखेको सुनाए । कृषि उत्पादनमा बृद्धि,बजारीकरण एवं आधुनिक कृषि प्रणालीमा बिस्तारमा पनि उनले जोड दिए ।
‘म विपक्षी साथीहरुले के भन्नुभयो भन्नेतिर लाग्दिन,मैले कास्की क्षेत्र नम्बर ३ को भूगोल चिनेको छु, यहाँका जनताको मर्का बुझेको छु, गरीब जनताको पिँढीमा बसेर मकै र मोही खाएको छु’,उनले भने,‘ चुनाव जितेपछि पनि म त्यही रामजी हुनेछु,तपाईंको घर–आँगनमा आउने छु, तपाईंहरुबीचमै रहनेछु ।’ घरदैलो सक्ने क्रममा रहेका उनले कुनै पनि धाक,धम्की,प्रलोभनमा नपरेर मतदान गर्न जनतालाई आह्वान पनि गरे ।
‘चुनावको क्रममा कतिकहाँ पुग्न सकेँ,कतिकोमा सकिन होला,त्यसलाई समयको चाप बुझ्नको लागि म अनुरोध गर्दछु’,उनले भने,‘कास्की क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउनु नै मेरो एकमात्र लक्ष्य हो,तपाईंको अमूल्य मतले मात्र त्यो सम्भव छ ।’