Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

वनमा आश्रित समुदायको उत्थान गर्न विश्व बैंकले दिने भयो ५८ करोड अनुदान


1.1K
Shares

वनमा आश्रित समुदायको उत्थान गर्न विश्व बैंकले दिने भयो ५८ करोड अनुदान

काठमाडौं, ३० कात्तिक । जलवायु कार्यमा वनमा आश्रित आदिवासी जनजाती र स्थानीय समुदायको उत्थान गर्न विश्व बैंकले ५८ करोड रुपैयाँ अनुदान दिने भएको छ । विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाबीच अनुदान सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।

नेपालको वन क्षेत्रमा आदिवासी जनजाति र स्थानीय समुदायहरूको क्षमता सुदृढ गर्न ४.५ अमेरिकी मिलियन डलर करिब ५८ करोड रुपैयाँको अनुदान सम्झौतामा हस्ताक्षर भएको विश्व बैंकले जनाएको छ । सम्झौतामा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभा र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका आरआरएन अध्यक्ष डा. अर्जुन कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

नेपालमा आदिवासी जनजाति र स्थानीय समुदायका लागि पाँच वर्षे लक्षित अनुदान संयन्त्र डीजीएम नेपाल परियोजनाले स्थानीय, राष्ट्रिय र विश्वव्यापी स्तरमा नेपालको वन विनास तथा वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जन न्यूनिकरण गर्ने रेडप्लस प्रक्रियामा सहभागी हुन विभिन्न क्रियाकलापहरूमार्फत आदिवासी जनजाति र स्थानीय समुदायहरू आईपीएलसीको क्षमता अभिवृद्धि गर्न मद्धत गर्ने बताइएको छ । मधेश र लुम्बिनी प्रदेशका वनमा आश्रित समुदायको आम्दानी बढाउन र जीविकोपार्जनका अवसर सिर्जना गर्न नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएन परियोजनाका लागि राष्ट्रिय कार्यान्वयन निकाय छनोट भएको हो ।

यस परियोजनाले नेपालका आदिवासी जनजाति र स्थानीय समुदायहरूलाई प्राकृतिक स्रोतहरूको दीगो व्यवस्थापन र जलवायु उत्थानशील निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने परम्परागत संस्थाहरूको प्रबर्द्धन र संरक्षणका लागि लक्षित कोष संयन्त्रमार्फत सहयोग गर्ने विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले बताउनुभयो । परियोजनाले नेपालको रोजगारीमा वृद्धि र दीगो पुनर्स्थापनाका लागि हरित, उत्थानशील तथा समावेशी विकास ९ग्रिड मा परिवर्तन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ छ ।
डीजीएम नेपाल परियोजनाले वनको दीगो उपयोगबाट नेपाली समुदायका आदिवासी जनजाति तथा स्थानीय समुदायहरूलाई आईपीएलसीर् दीर्घकालीन फाइदाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले समुदायका उत्पादनहरूमा मूल्य थप्ने र नेपालको राष्ट्रिय नीति निर्माण प्रक्रियामा थप सक्रियतासाथ पैरवी तथा वकालत गर्ने कार्यमा संलग्न हुनेछ ।

सो अवसरमा आरआरएनका अध्यक्ष डा. कार्कीले डीजीएम नेपाल परियोजनाले वनमा निर्भर दुवै समुदायहरूलाई उनीहरूको उत्थानशील बढाउन र साना व्यवसाय वन र गैर–वनमा आधारित र रोजगारीका अवसरहरूमार्फत जीविकोपार्जन गर्न ठूलो मद्दत गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology