गोरखा, २९ कात्तिक । गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागी ३२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्नु भएको छ । उत्तरी गोरखाको चुमनुब्री, धार्चेसहित आरुघाट र भीमसेन थापा गाउँपालिका क्षेत्रमा पर्ने यस प्रदेशको विकासका लागि पहल गर्ने उल्लेख गर्दै बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नु भएका न्यौपानेले सामाजिक सञ्जाल मार्फत आफ्नो ३२ बुदे प्रतिवद्धतापत्र सार्वजानिक गरेका हुन् ।
चुमनुब्री, धार्चेलगायत पालिकामा आवासीय विद्यालय संख्या थप र ब्यवस्थित गर्ने, दुर्गमका स्वास्थ्य संस्थामा सेवा बिस्तार गर्दै प्रविधि र दक्ष चिकित्सक सहितको अस्पताल बनाउने, गुणस्तरीय शिक्षाका लागि विद्यालयहरुलाई आईटी, पुस्तकालयलगायत भौतिक पूर्वाधारमा सबल बनाउने योजना उहाँले लिनु भएको छ । हेलिकप्टरबाट उद्धार तथा उपचार गर्नुपर्ने सुत्केरी, गर्भवती, गम्भीर घाईते तथा बिरामीलाई तत्काल सेवा दिने प्रक्रिया अपनाउने उहाँले बताउनुभयो ।
तिब्बत सँग जोडिएको छेकम्पार र सामागाउँको रुईला र ङुईला नाका खुल्ला गर्न नेपाल सरकारको तर्फबाट चीन सरकारसँग पहल गर्ने, बेनिघाट–आरुघाट–लार्के सडक निर्माण लगायतका विषयलाई न्यौपानेले प्राथमिकतामा राखेका छन् । पालिका जोड्ने मुख्य सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न पहल गर्ने, स्तुलखोला, ज्यादुलखोला, चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम जोड्ने र बूढीगण्डकी आसपास रहेको बस्ती क्षेत्रमा सम्भाब्यता अध्ययन गरी पक्की पुल निर्माण गर्ने, खेल क्षेत्रको विकासमा ध्यान दिँदै युवा खेलाडीहरुको क्षमता अभिवृद्धिको लागि स्थानीय स्तरमै अवसर सिर्जना गर्ने गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का उम्मेदवार न्यौपानेले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गर्नु भएको छ ।
स्थानीय सरकारसँग सहकार्य गरी बिकास निर्माणका काम अघि बढाउने, सांसद सम्पर्क कार्यालय स्थापना गरी जनताका समस्या, गुनासालाई नजिकबाट सम्बोधन गर्न प्रयास गर्ने योजना रहेको उहाँले बताउनुभयो । उत्तरी गोरखा जाने पैदल बाटोलाई सुरक्षित र नियमित रुपमा सुचारु गराउन र पहिरो, भूक्षयको दीगो समाधान गर्न प्राविधिक अध्ययन गरी काम अघि बढाउने, केन्द्रिय प्रशारण लाईन बिस्तार गरिनेछ साथै लघु जलविद्यूत आयोजना र बैकल्पिक उर्जा मार्फत ‘जनताको रहर, उज्यालो घर’ भन्ने अभियान संचालन गर्ने प्रतिवद्धता उहाँले सार्वजनिक गरेका छन् ।
जलवायू परिर्वतनको असरलाई न्यूनिकरण गर्न नीति बनाएर काम गर्ने, सूचना र संचार क्षेत्रको विकाससँगै दुर्गम र ग्रामीण भेगमा सहज संचार गर्न गराउन, इन्टरनेट र सुचनाको सहज उपलब्धतामा पहल गर्ने न्यौपानेले आस्वासन दिएका छन् । बूढीगण्डकी अयोजनाबाट मुआब्जा पाउन छुटेकालाई मुआब्जा रकम प्राप्तिका लागि पहल गर्ने र बिस्थापित परिवारलाई वडाभित्र नै पुनर्बासको ब्यवस्था गर्ने बताउनुभयो ।अब्यवस्थित बसोबासी र सुकुम्बासीहरुको समस्या समाधानका लागि दिगो ब्यवस्थापन गर्ने, बूढीगण्डकी आयोजना निर्माण र निर्माणपश्चात सिर्जना हुने अवसरहरुमा स्थानीयलाई प्राथमिकतामा राख्ने न्यौपानेले सार्वजनिक गरेको प्रतिबद्धधता पत्रमा उल्लेख गरिएको छ ।