गोरखा, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम गोरखा क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्रीसमेत रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि विकास निर्माणलगायत काम गर्न सकिने बताउनु भएको छ ।
चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आज भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उत्तरी गोरखाको विकासका काम प्राथमिकतामा रहेको बताउनुभयो।
उहाँले सत्ता गठबन्धनका उम्मेदवारलाई मंसिर ४ को चुनावमा मत दिएर जिताउन पनि आग्रह गर्नु भएको थियो।
‘गोरखा १ को प्रतिनिधि सभामा कांग्रेसका नेता राजेन्द्र बजगाईं र प्रदेश सभा (ख) मा कांग्रेसकै नेता नन्दप्रसाद न्यौपानेलाई जिताउन म आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘बजगाईंलाई केन्द्रमा र न्यौपानेलाई प्रदेशमा मन्त्री बनाउन म पहल गर्छु।’
उहाँले आफू र देउवाबीच कुराकानी भएपछि केन्द्र र प्रदेशमा गोरखाका सांसदलाई मन्त्री बनाउन सकिने बताएका थिए।