गोरखा, १८ कातिक । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अध्यक्ष एबम गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेदवार पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा हुने चुनाव अग्रगमन र प्रतिगमन बिचको लडाइँको फैसला गर्ने चुनाव भएको बताउनु भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर १४ स्थित याङ्कोटमा आज आयोजित बामगठबन्धनको संयुक्त चुनावी जनसभा तथा कोण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
देशमा राजाबादी दलालहरुको पनि गठबन्धन रहेको भन्दै त्यस्ता गठबन्धनलाई जनताले चिन्नु पर्ने बताउनुभयो । आगामी मंसिरको चुनावमा अग्रगमन र प्रतिगमन बीचको लडाइँ छिनोफाने गर्ने चुनाव रहेकाले नेपाली जनताले अग्रगमनको पक्षमा फैसला गर्न अपिल गर्नुभयो ।
‘अहिलेको चुनाव अन्य चुनाव जस्तो सामान्य छैन,’ उहाँले भन्नुभयो, ‘यो चुनाव त गणतन्त्र स्वीकार गर्न, संबिधान स्वीकार गर्ने र गणतन्त्र बिरोधी र संविधान बिरोधीको लडाइँ छिनोफानो गर्ने चुनाव हो ।’
संविधान निर्माणपछि देश स्थायित्वमा जान्छ भन्ने ठानेको भएपछि केही गणतन्त्र बिरोधीले संविधान च्यात्ने काम गरेपछी बाम (लोकतान्त्रिक) गठबन्धन बनेको बताउनुभयो । अहिलेको चुनावमा सिंगो देशले प्रतिगामीहरु देखाउने गरी गठबन्धनको पक्षमा भोट हाल्नु पर्ने बताउनुभयो ।
उहाँले गोरखाको चुनावले सिंगो बिश्वलाई देखाउन जरुरी रहेको भन्दै नयाँ रेकर्ड कायम गर्ने गरी जनता आफू सहित गठबन्धनलाई जिताएर पठाउने बिश्वास ब्यक्त गर्नुभयो ।