गोरखा, १८ कात्तिक । गोरखामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रचार अभियान प्रभावकारी बनाउनका लागी वडास्तरको गठबन्धन संयन्त्र परिचालन गर्ने भएको छ । बिहीबार नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिष्णु प्रसाद भट्टको अध्यक्षतामा बसेको गठबन्धन दलको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रचार अभियान अन्तरगर्त सबै वडा संयन्त्रको आयोजनामा संभव भए उम्मेद्वारको सहभागी नभए जिल्ला स्तरका नेतृत्वको सहभागीमा मतदाता भेटघाट तथा कोण सभा आयोजना गर्ने अध्यक्ष भट्टले जानकारी दिनुभयो । चुनावी अभियानका कार्यक्रम सञ्चालन गर्न वडास्तरमा आर्थिक व्यवस्थापन गर्न उम्मेद्वारहरु सँगको परामर्शमा व्यवस्था मिलाउने गरिउको उहाँले बताउनुभयो । पहिलो चरणको घरदैलो अभियान प्रभावकारी भएको साथै त्यती बेला देखिएका समस्या र कमजोरीहरुको पहिचान गरी आगमी दिनमा सुधार गर्दै प्रचारलाई अघि बढाउने बैठकले निर्णय गरेको जनाएको छ ।
आगमी कात्तिक २० गते सबै पालिकास्तरमा गठबन्धन दलका युवा तथा विद्यार्थीहरुको भेला गर्ने साथै प्रशिक्षण दिने कार्यक्रम रहेको अध्यक्ष भट्टले बताउनुभयो । उहाँका अनुसार गठबन्धन दलका सबै भातृ संस्थाका प्रतिनिधि समेतको सहभागीतामा गोरखा नगरपालिकाको सदमुकाममा र अन्यको पालिकास्तरमा भेला गर्ने निर्णय गरिएको हो । प्रचार सामग्री घर घरमा पुर्याउने अपिल बनाउने जिम्मा माओवादी केन्द्रका विष्णु भट्ट, नेपाली कांग्रेसका पूर्ण दाहाल र नेकपा एकिकृत समाजवादीका विशेश्वर कट्टेललाई दिने निर्णय गरिएको छ ।
यस्तै बैठकले फोटोसहितको मतदाता नाकावली निर्वाचन कार्यालयबाट लिएर सबै वडा लर मतदान केन्द्र सम्म पुर्याउने निर्णय भएको उहाँले बताउनुभयो । बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष भट्ट, केन्द्रिय सदस्य लेख बहादुर थापा, अमर तमु र पशुराम रम्तेल नेपाली कांग्रेसका तर्फबाट प्रदेश सदस्य पूर्ण दहाल, जिल्ला सचिव किशोर जङ्गथापा र सदस्य राजन राज पन्त, नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष यान प्रसाद भट्टसहित सचिव रोहित पाण्डे तथा नेकपा एकिकृत समाजवादीका विशेशवर कट्टेल र कविता अर्यालको उपस्थित रहेको थियो ।