गोरखा, १ कात्तिक । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चार सय मिटर पुरुष दौडमा गोरखाका एक खेलाडीले स्वर्ण पदक जित्नु भएको छ । गोरखा नगरपालिका १२ छापगाउँ घर भई त्रिभुवन आर्मी क्लबमा आबद्ध सोम बहादुर कुमालले स्वर्ण पदक जित्नुभएको हो ।
पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा सोमले निर्धारित दूरी ४७.९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्नुभयो ।
यसअघि सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामा उहाँले ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गर्नुभएको हो ।
चार सय मिटर पुरुष दौडमा सन् १९९० को बेइजिङ एसियन गेम्समा आशाराम चौधरीले ४८.३२ सेकेण्डको इलेक्ट्रिक टाइमिङ कीर्तिमान बनाउनुभएको थियो । आशारामको भन्दा राम्रो समय निकाले पनि सोमको कीर्तिमानले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।