दीपक श्रेष्ठ
गोरखा, ३० असोज (रासस) : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुल्ला तथा महिला तर्फको क्लासिकल इभेन्टमा आशिष र सुजनाले एकल अग्रता बनाएका छन् । प्रतियोगिता अन्तरगत खुल्ला क्लासिकल इभेन्ट पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासिय नेपाली संघ (एनआरएनए) का खेलाडी खुल्ला तर्फको क्लासिकल इभेन्टमा फुयाँलले अग्रता कायम गर्नुभएको हो । क्लासिकल तर्फको अहिलेसम्मको ५ खेल मध्ये फुयाँलले ४ खेलमा जीत निकाल्न सफल हुुनुभयो भने एक खेलमा ‘ड्र’ खेल्दै एकल अग्रता कायम गर्नुभएको निर्णायक दिपेश गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगत पाँचौ चरणको क्लासिकल इभेन्टमा फुँयालले नेपाल पुलिस क्लबका क्षतिज भण्डारीसंग ‘ड्र’ खेल्दै अग्रता कायम गर्न सफल हुनुभएको हो । फुँयालले क्लासिक इभेन्टको पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुबिर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रुपेश जैसवाललाई पराजित गर्नुभएको थियो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारी र त्रिभुवन आर्मी क्बलका रुपेश जैसवालले ४/४ खेल जितेर फुँयाललाई पच्छ्याई रहनु भएको छ । त्यस्तै तर्फको क्लासिकल इभेन्टमा सुजना लोहनीले एकल अग्रता कायम राख्नुभएको छ । प्रतियोगिता अन्र्तगत क्लासिकल इभेन्ट पाँचौ चरणको खेल सम्पन्न हुँदा त्रिभुवन आर्मी क्बलकी खेलाडी लोहनीले अग्रता कायम राख्न सफल हुनुभएको हो । महिला क्लासिकल तर्फको अहिलेसम्मका ५ खेल मध्ये लोहनीले सवै चरणको खेलमा जीत निकाल्नु सफल हुनुभएको निर्णायक गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत पाँचौ चरणको महिला क्लासिकल इभेन्टमा लोहनीले प्रदेश नम्बर एककी खेलानी कृतिसारा अधिकारीलाई पराजित गदै खेल्दै अग्रता जोगाउनु भएको उहाँले बताउनुभयो । लोहनीले क्लासिक इभेन्टको पहिलो चरणमा बाग्मती प्रदेशकी मार्सल तामाङ, दोस्रो चरणमा सशस्त्र प्रहरी बलकी सुरुची थिङ, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलकी सिन्दिरा जोशी र चौथो चरणमा प्रदेश नम्बर एककी खुस्वु थापालाई पराजित गर्नुभएको थियो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सिन्दिरा जोशीले ४ खेलमा जीत र एक खेलमा हार व्यर्होदै ४ अंक र नेपाल पुलिस क्बलकी पुनम प्रसाईले पनि ५ खेलमा ४ जीत तथा १ हार व्यर्होदै लोहनीलाई पछ्याइरहेका छन् ।