काठमाडौं, १६ असोज । संखुवासभाका १६ वर्षीया निमा रिन्जी शेर्पाले शुक्रबार बिहान ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन्।
उनी यति कम उमेरमा मनास्लु चढ्ने विश्वकै कान्छा आरोही बन्नु भएको छ ।
शेर्पाले बिहान ९ बजेर २० मिनेटमा मनास्लु हिमालको शिखरमा पाईला टेकेर विश्वकै कान्छा आरोही बन्नु भएको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ।
उहाँले सेभेन समिट टोलीका जापानी नाओको वातानाबे, इरानी अहमद एम सालेह र नेपाली तेन्जिङ शेर्पा, पेम्बा थिन्दुक शेर्पा, मनिष महर्जन, नुरबु शेर्पा र लाक्पा शेर्पासँग मनास्लुको आरोहण गर्नु भएको हो।
निमा रिन्जीको बुबा टासी लाक्पा शेर्पा कीर्तिमानी आरोही तथा सेभेन समिट ट्रेक्सको भगिनी कम्पनी, १४ पिक्स एक्सपिडिसनको सञ्चालक हुनु हुन्छ।
सानै उमेरदेखि टाशीलेनै निमालाई व्यवसायिक आरोहण सम्बन्धि तालिम दिनु भएको थियो ।
निमालाई आफ्ना वुवा टाशीले एक कुशल पर्वतारोही बनेको हेर्न चाहेको वताउँदै विश्वका ८ हजार माथिको १४ वटा हिमाल आरोहणको योजना समेत रहेको खुलाउनु भयो।