गोरखा, १६ असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित बारपाकमा आज सम्पन्न भएको आठौ बारपाक खुल्ला दौड प्रतियोगिताको उपाधी नवराज गुरुङले जित्नु भएको छ । बारपाक मित्रता समाजको आयोजनामा भएको प्रतियोगितामा गुरुङले निर्धारित ८ दशमलब ५ किलोमिटरको दुरी ४३ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै प्रतियोगितामा प्रथम हुन सफल हुनुभएको हो ।
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ स्थित मान्द्रेदेखि वडा नम्बर २ को सिमानामा पर्ने मनिडाँडासम्म दौड प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । प्रतियोगितामा निर्धारित दुरी ४६ मिनेट १६ सेकेण्डमा पुरा गर्दै २४ बर्षका सुकबहादुर गुरुङ दोस्रो हुन सफल हुनुभएको छ ।
त्यस्तै बारपाक सुलिकोट गाउँपालिका २ का २५ बर्षिया बीरबहादुर गुरुङले निर्धारित दुरी ४६ मिनेट ४२ सेकेण्डमा पुरा गरी प्रतियोगितामा तेस्रो हुन सफल हुनुभएको उहाँले बताउनुभयो । प्रतियोगितामा ५४ जना धावकहरुको सहभागिता रहेको थियो । बिजेताहरुलाई नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।