मेलिना बराम
गोरखा, ६ असोज । जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार नेतृत्वको टोलीले आरुघाट गाँउपालिकामा रहेको सिमखोला डाँडागाँउ लिफटिङ खानेपानी आयोजनाको अनुगमन गरेको छ ।गण्डकी प्रदेशको एक घर एक धारा आयोजना अन्तरगत वडा नं. १० पैका डाँडागाँउ स्थित लिफटिङ खानेपानी आयोजनाको टोलीले अनुगमन गरेको हो ।
आरुघाट गाँउपालिका १० स्थित सिमखोला लिफटिङ खानेपानी आयोजना
उक्त आयोजनाबाट करिब तीन सय घरधुरी लाभाव्दित हुने भएका छन् । यो आयोजना प्रदेशको क्रमागत योजना हो । सो योजनाका लागी प्रदेश सरकारले कुल ४ करोड बजेट विनियोजन गरिएको उपभोक्ता समितिका अध्यक्ष मिना बरामले जानकारी दिनुभयो । पहिलो चरणमा अहिले सम्म १ करोड ६० लाख रुपैया खर्च भैसकेको उहाँले बताउनुभयो । अध्यक्ष बरामका अनुसार उक्त लागतमा २८५ धारा निमार्ण सम्पन्न भएको छ ।

निमार्ण सम्पन्न धारा मध्ये १३६ धारामा दैनिक पानी वितरण पनि भैरहेकोे अध्यक्ष बरामले बताउनुभयो । त्यहाँ लिफटिङ बन्नु अघि पिउने पानीको समस्य हुने गरेको थियो । योजना सम्पन्न भए पछि पानी लिनका लागी टाढा—टाढा जानु पर्ने बाध्यता हट्ने उहाँको भनाई छ ।

अहिले आयोजनाबाट दैनिक रुपमा लाभाव्दित बनेका परिवारले शुद्ध पानी पिउने सुविधा प्राप्त गरेको अध्यक्ष बरामले जानकारी दिनुभयो । बाँकी रहेको काम पनि चरणबद्ध रुपमा पूरा गर्न आफु तत्पर रहने उहाँले बताउनुभयो । अनुगमन टोलीमा उपप्रमुख परियारसहित समन्वय समितिका सदस्य मोहन ढकाल, महोमद हकिम, शिव प्रसाद रेग्मी, लेखा विनोद अइडी, प्रविधिक कृष्ण बहादुर बस्नेत, पत्रकार लगायतको सहभागीता रहेको थियो ।