गोरखा, २१ भदौ । गोरखा जिल्लाले प्रदेश स्तरीय कराँते प्रतियोगितामा तिन स्वर्ण सहित आठ वटा पदक जितेको छ ।
भदौ १५ देखि १७ गतेसम्म प्रदेश राजधानी पोखरामा सम्पन्न भएको कराँते खेलमा गोरखाले तिन स्वर्ण, तिन रजत र दुई कास्य पदक जित्न सफल भएको गोरखा कराते प्रशिक्षक ग्याम्जो लामाले जानकारी दिनुभयो । कुमते फाईट तर्फ १ स्वर्ण र काँता खेलतर्फ १ स्वर्ण गरी बुद्ध लामाले २ स्वर्ण जित्न सफल हुनु भएको हो । यस्तै ६० केजी तौल कुमुते फाईटतर्फ सक्षम लामाले १ स्वर्ण जित्न सफल हुनु भएको छ । ५५ केजी पुरुष कुमुते फाईटतर्फ बमिन गुरुङले १ रजत, ६७ केजी तौल कुमुते फाईटतर्फ अनिल बरामले १ रजत र ७५ केजी तौल कुमुते फाईटतर्फ बिशाल थापा मगरले १ रजत पदक जितेका छन् ।
कुमुते फाईट ६८ केजीभन्दा तलमा बिनिता घलेले १ कास्य, कुमुते फाईट ५५ केजीतर्फ समिक्षा बस्यालले १ कास्य पदक जित्न सफल हुनु भएको छ । स्वर्ण पदक बिजेता २ जना र ६७ केजी तौल तर्फ १ रजत पटक बिजेता भने नवौँ राष्ट्रिय खेलमा भाग लिन पाउने भएका कराँते प्रशिक्षक ग्याम्जो लामाले बताउनु भयो । जिल्ला खेलकुद बिकास समितिले कराँतेमा सहभागी गोरखाली खेलाडीलाई भदौ १५ गते प्रदेशस्तरीय खेलमा पठाउन बिदाई गरेको थियो । पछिल्लो समय गोरखाका कराँते खेलाडीहरुले हरेक प्रतियोगितामा आफ्नो अब्लल प्रस्तुती दिने गरेका छन् ।
उनीहरुले पटक पटक गोरखामा पदक भित्र्याउन सफल भएकाले उनीहरुको प्रतिभालाई बलियो बनाउन र अझै सबैको साथसहयोग आवश्यक रहेको कराँते प्रशिक्षक ग्याम्जो लामाले बताउनु भयो । भदौ २३ गतेबाट काठमाण्डौँमा सुरु हुन लागेको एनरआएरन कराँते प्रतियोगितामा गोरखाली खेलाडीहरु भाग लिन २२ गते प्रस्थान गर्दैछन् । भदौ २८ गतेबाट काठमाण्डौँमा हुने नवौँ राष्ट्रिय खेलकुदमा पनि गोरखाली खेलाडी सहभागी हुने उहाँले बताउनु भयो ।