जाजरकोट, १९ भदौ । जाजरकोटमा चार दिनदेखि सुत्केरी व्यथाले छट्पटिएकी महिलाको हवाई उद्धार गरिएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–८, लुपानाकी २७ वर्षीया लक्ष्मी वलीको नगरपालिका दल्लीबाट हवाई उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।
हवाई उद्धारका लागि वडाध्यक्ष बद्री पन्त र पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश पन्तले पहल गर्नु भएको थियो । सुत्केरी व्यथाले च्यापेपछि लक्ष्मीलाई स्थानीय स्वास्थ्य संस्था ल्याइएको थियो । स्वास्थ्य संस्थामा प्रसूति हुन नसकेपछि उहाँलाई प्रदेश अस्पतालमा रिफर गरी ल्याइएको हो । चार दिनदेखि सुत्केरी व्यथाले छट्पटीएकी लक्ष्मीलाई शुक्रबार राति मात्र उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो ।
त्यहाँ उपचार नहुने र सुविधायुक्त अस्पतालमा लैजानुपर्ने स्वास्थ्यकर्मीहरूले सल्लाह दिएका थिए । स्थल मार्गबाट एम्बुलेन्स सन्चालन हुने सडकबाटो अवरुद्ध भएका कारण तत्काल हवाई उद्धार गरिएको हो । तत्काल नगर स्वास्थ्य शाखाको सिफारिस लेखेर जिल्ला प्रशासन कार्यालय जाजरकोट र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अनुरोध गरिएको थियो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, राष्ट्रपति हवाई उद्धार कार्यक्रमकी निता शर्मा, नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, स्वास्थ्य शाखा दल्लीका प्रमुख प्रचण्ड जंग कार्की, चन्दन नाथ गण दल्लीका क्याप्टेन दिवबहादुर थापा, ईलाका प्रहरी कार्यालय दल्लीका प्रमुख अर्जुन साँउदको सहयोगमा सुत्केरी आमाको उद्धार गरिएको हो ।