गोरखा, १८ भदौं । नेपाल समाजबादी पार्टी (नेसपा) गोरखाले संघ र प्रदेशको लागी हुने उमेद्वार बन्न चाहाने नेताहरुको नामावली संकलन गरेको छ । पार्टीको आज बसेको पहिलो पूर्ण बैठकमा आगामी मंसिरमा हुन लागेको निर्वाचनका लागि गोरखा २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ उमेद्वार बन्न चाहाने नेताहरुको नामावली संकलन गरेको हो । बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ मा यान प्रसाद भट्ट, बिधार्थी नेता रुप नारायाण श्रेष्ठले दावी प्रस्तुत गर्नुभएको छ ।
क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश सभा (क) मा गोपाल बाबु श्रेष्ठ, कुमार गुरुङ, ज्योती कोइरालाले दावी पेश गर्नुभएको पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले जानकारी दिनुभयो । त्यस्तै क्षेत्र नम्वर १ प्रदेश सभा (ख) मा राजेन्द्र पराजुलीले उमेद्वारको दावी प्रस्तुत गर्नुभएको उहाँले बताउनुभयो । प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मात्र दावी परेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै क्षेत्र नम्वर २ प्रदेश सभा (क) अन्तर्गत भीषण आर्चाय, हरिशरण आर्चाय, ज्ञानेन्द्र कुमाल, लालबहादुर विश्वकर्मा र दुर्गा न्यौपानेको दावी रहेको अध्यक्ष भट्टले जानकारी दिनुभयो । क्षेत्र नम्वर २ प्रदेश सभा (ख) मा धनमाया लामा र रमेश पोखरेलले दावी प्रस्तुत गर्नुभएको छ । जसपा गोरखाबाट समानुपातिक तर्फ संघमा नेताहरु दुर्गा न्यौपाने, चित्र गुरुङ, मन्जु थापा गुरुङ र धनमाया लामाले दावी गर्नुभएको छ भने प्रदेश समानुपातिकमा नारायणी अधिकारी, राजेश आले मगर, सञ्जु भट्ट नेपाली, सानु गुरुङले दावी पेश गर्नुभएको उहाँले जानकारी दिनुभयो ।