काठमाडौँ, १७ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याउन बसेको नेपाली कांग्रेस सिराहा १ नम्बर क्षेत्रको भेलामा माइन्युट खोसाखोस र हात हालाहालको अवस्था सिर्जना भएको छ।
क्षेत्रीय सभापतिसमेत रहेका लहान नगर प्रमुख महेशप्रसाद चौधरीको अध्यक्षतामा बिहीबार राति करिब ७ बजेतिर भेलाको अन्त्यमा माइन्युट खोसाखोस भएको हो। भेलामा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिसहित अगुवा कार्यकर्ता गरी करिब चार सयजनाको उपस्थिति थियो । सिराहा १ प्रतिनिधिसभा तथा प्रदेश सभा ‘क’ र ‘ख’का लागि प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारको नाम टुंग्याएपछि अन्त्यतिर माइन्युट गर्नुपर्ने विषयमा विवाद भएको जिल्ला सदस्य त्रिपतलाल यादवले बताउनु भयो ।
क्षेत्रीय सभापतिले राति पनि भइसकेकाले सहभागीहरूले टिपाएको नामअनुसार क्षेत्रीय कार्यसमितिले अर्को दिन माइन्युट गरी जिल्ला कार्यसमितिमा उम्मेदवारहरूको नामावली पठाउँछौँ भनेपछि उपस्थित केहीले तत्काल गर्नुपर्ने भन्दै होहल्ला गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको हो। क्षेत्रीय सभापति चौधरीले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री पदमनारायण चौधरीसहित ६ जनाको नाम टुंगिएको बताएपछि पदमनारायणपक्षीय केही कार्यकर्ताले उहाँको एकल नाम पठाइनुपर्ने भन्दै होहल्ला गरेका थिए ।
‘क्षेत्रीय कार्यसमितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र अगुवा कार्यकर्ताहरूले ६ जनाको नाम टुंग्याएकाले त्यसमा फेरबदल हुन सक्दैन भनेँ,’ उहाँले भन्नुभयो त्यही विषयमा विवाद भएको हो।’