सिरहा, १७ भदौ । सिराहाको गोलबजार नगरपालिका– ६ ग्रामीण बजारमा बिहीबार अपराह्न करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर घाइते भएको १९ वर्षीय अमर साहछोरालाई जोगाउन खोज्दा ४२ वर्षीय विजय साह बाबुछोराकै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर घाइते भएका दुवै बाबुछोरालाई गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार गरी थप उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनु भयो ।
उहाँका अनुसार साहको घरआँगनमै रहेको इनारमा पानी तान्न जडान गरिएको विद्युतीय मोटर बुधबार बिग्रिएपछि बिहीबार अपराह्न करिब साढे ३ बजेतिर छोरा अमर मोटर हेर्न इनारमा पस्नु भएको थियो । इनारमा पसेको निकैबेरसम्म पनि नफर्किएपछि हेर्न जानु भएको बाबुले छोरालाई करेन्ट लागेर अचेत अवस्थामा देखेपछि जोगाउन खोज्दा उहाँलाई पनि करेन्ट लागेको हुन सक्ने उहाँले बताउनु भयो ।
तत्काल प्रहरीलाई खबर गरिएपछि स्थानीयको समेत सहयोगमा घाइतेहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बाबुछोराको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।