ताप्लेजुङ, १५ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा (ओवादी केन्द्र) ताप्लेजुङद्धारा उम्मेदवारको नाम सिफारिस गरेको छ ।
केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), प्रदेश सचिवालय सदस्य लक्ष्मीप्रसाद आङ्छङ्बो र प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज मिङ्माडण्डु शेर्पालाई सिफारिस गरिएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज विष्णु कुमार लिम्बूले जनकारी दिनुभयो । प्रदेश सभातर्फ क्षेत्र ‘क’ मा संघीयमा सिफारिस गरिएका खेलप्रसाद बुढाक्षेत्री (पराग)लाई नै दोहोर्याइएको छ ।
त्यस्तै, बमबहादुर भट्टराईको नाम पनि सिफारिस गरिएको छ। उता, प्रदेश निर्वाचन क्षेत्र ‘ख’मा पनि प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस दुई जनालाई नै दोहोर्याइएको छ। लक्ष्मीप्रसाद आङ्छङ्बो र मिङ्माडण्डु शेर्पालाई माओवादीले प्रदेश ‘ख’मा सिफारिस गरेको लिम्बूले बताउनु भयो । ताप्लेजुङमा एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेका छन् ।
प्रतिनिधिसभा उम्मेदवारका लागि समानुपातिकमा पर्शुराम कार्की, तेजशमशेर भट्टराई, ठाकुरसिंह साम्सोहाङ, देउबहादुर इवाराम र गोमा चुडाललाई सिफारिस गरिएको छ । प्रदेश सभा उम्मेदवारका लागि समानुपातिकतर्फ भने धेरैजनाको नाम आएको, तर सिफारिस भने भइनसकेको लिम्बूले बताउनु भयो । गठबन्धनमा कता कसको भाग पर्ने भन्ने विषयले भने अन्योलता छाएको छ ।
ताप्लेजुङमा प्रदेशतर्फ मात्र गठबन्धनबाट भाग लाग्यो भने केन्द्रमा सिफारिस गरेका व्यक्ति नै प्रदेशको उम्मेदवार बन्ने गरी दुई ठाउँमा सिफारिस गरिएको संयोजक लिम्बूले स्पष्ट पार्नु भयो ।