काठमाडौँ, १५ भदौ । दक्षिणपश्चिम इरानमा मंगलबार बिहान मिनीबस र ट्रक ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु र अन्य आठ जना घाइते भएका छन् ।
दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको गभमिशाबादबाट सुष्टर जाने बाटोमा ट्रकसँग मिनीबस ठोक्किएको सुष्टारका चिकित्सा विज्ञान विश्वविद्यालयका प्रमुख मोज्ताबा कलान्तरले जानकारी दिनुभयो । उहाँले कामदारहरू सो मिनीबसमा सवार रहेको पुष्टि गर्नु भएको छ । आपतकालीन सेवा र एम्बुलेन्सको सहायताले घाइतेहरूलाई अस्पताल पुर्याइएको कलान्तरले बताउनु भयो ।
यसअघि खुजेस्तानको मेडिकल इमर्जेन्सी सेन्टरका जनसम्पर्क कार्यालयका निर्देशक आरेफ असल सरहानीले घाइतेहरूलाई अस्पताल लैजानका लागि हेलिकोप्टर पनि पठाइएको बताउनु भयो। घटनाको कारणबारे प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको छ ।