काठमाडौं, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ— ३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ।
प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले पहिलो नम्बरमा थापाको नाम उल्लेख गरेको छ।
राप्रपा बेलबारी नगरका अध्यक्ष नगेन्द्र कार्कीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो।
गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिनु भएको थियो । तर, उहाँ कुन्ती शाहीसँग पराजित हुन भयो ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उहाँ प्रत्यक्षबाट उठ्न लाग्नु भएको हो । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए ।