सुर्खेत, १४ भदौ । सुर्खेतमा रहेको विश्वविद्यालयको भुईं तलामा महिला मृत फेला परेको छ ।
वीरेन्द्रनगर नगरपालिका–८ स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय (मुसोम)को भुईं तलामा मृत अवस्थामा भेटिएको हो ।
मृतक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार दिउँसो ४:३० बजे मृत अवस्थामा भेटिएकी ती महिला अन्दाजी २८/२९ वर्षकी भएको प्रहरीले जनाएको छ । घटनाको ज्यान सम्बन्धी कसुर (फुटकर ज्यान) मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो । ‘मृतकको शव जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएको छ ।
मृतकको शव प्रदेश अस्पताल कालागाँउको शव गृहमा राखिएको डीएसपी कार्कीले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।