काठमाडौँ, ६ भदौ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उपाध्यक्ष दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहितका नवप्रवेशीहरूलाई स्वागत गर्नु भएको हो ।
गत साता मात्रै गठन गरिएको नेसपाले चौधरीलाई उपाध्यक्ष चयन गरेको थियो । ०६२/०६३ सालको मधेस आन्दोलनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध चौधरी ०६४ सालको पहिलो संविधानसभामा सोही पार्टीबाट क्षेत्र नं. २ को सभासद बन्नु भएको थियो । ०७० सम्म आइपुग्दा चौधरी तमलोपा परित्याग गरी तत्कालीन विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा प्रवेश गर्नु भएको थियो । २०७२ सालमा संविधान जारी भएपछि भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा चौधरी सामेल हुनुभएको थियो । ०५६ सालको आम चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नं. १ बाट चुनाव जित्नु भएको थियो । चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किनु भएको हो ।
दुई पटक चुनाव जित्नु भएको चौधरी ०७० र ०७४ मा भने पराजित हुनुभएको थियो । भट्टराई प्रधानमन्त्री भएको बेला त्यहीँ सरकारमा उहाँ मन्त्री हुनु हुन्थियो ।