एजेन्सी, ३ भदौ । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ।
बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उहाँ विवादमा पर्नु भएको छ। लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उहाँका साथीहरू नाचगान गरिरहेको देखिन्छ।
३४ वर्षकी हुँदा मरिन सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बन्नु भएको थियो । त्यतिबेला उहाँ संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख हुनु हुन्थ्यो।
विपक्षी नेताहरूले मरिनले लागुपदार्थ सेवन गरेरनगरेको परीक्षण गर्नुपर्ने माग गरेका छन्।
मरिनले भने आफ्नो सार्वजनिक, पारिवारिक र नितान्त व्यक्तिगत जीवन भएको बताउनु भएको छ । ‘मैले रक्सी पिएकी हुँ, नाचगान पनि गरेकी हुँ। यी सबै कुरा कानुनी हुन्,’ उहाँले भन्नु भएको छ। लागुपदार्थ सेवनको परीक्षण गर्न पनि आफू तयार रहेको बताउनुभयो।
उहाँले भिडिओ लिक भए पनि आफूले जीवनशैली परिवर्तन नगर्ने बताउनु भएको छ।
‘म जस्ती थिएँ, त्यस्तै भएर बाँच्छु,’ उहाँले भन्नुभयो।