रुपन्देही, ३० साउन । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक घाइते हुनु भएको छ ।
अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका – १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते हुनु भएको हो ।
नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया – ४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ ।
पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गोली प्रहार गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।