काठमाडौं, २९ साउन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वदेश फर्किन प्रवासी नेपालीहरुलाई आग्रह गर्नु भएको छ ।
पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनावको बेला भोट हाल्न नेपाल आउन आग्रह गर्नु भएको हो ।
देशका नागरीकको मतबाटै देशको अवस्था बदल्न सकिने भएकाले चुनावको बेला नेपाल आउन लिङ्देनले आग्रह गर्नु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । प्रवासमा रहेको पार्टीको संगठनलाई चलायमान र परिणाममुखी बनाउन भर्चुअल बैठक फलदायी भएको विभागकी सदस्य सचिव सन्तोषी शाही ठकुरीले बताउनु भयो ।
राप्रपाका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता मोहन श्रेष्ठ, सहायक महामन्त्री विजय खड्का, पानस आईसीसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, आईसीसीका पदाधिकारी तथा सल्लाहकारहरु, विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।