साउन, २६ गोरखा । गोरखाका गण्डकी गाउँपालिका फुजेलका नुरप्रसाद अधिकारीले काठमाडौंको रामशाहपथमा रहेको न्याय परिषद सचिवालयमा तोडफोड गरेका छन् ।
न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारीले आज दिउँसो न्यायपरिषद्का झ्याल‚ ढोका‚ कम्प्युटर र स्क्यानर तोडफोड गरेको बताउनु भयो । जिल्ला अदालत ललितपुरले अधिकारीलाई उपस्थित हुन म्याद जारी गरेको थियो ।
आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने ललितपुर जिल्ला अदालतका न्यायाधीशमाथि भ्रष्टाचारलगायतका आरोप लगाउँदै उजुरी दिन भनी न्यायपरिषद् कार्यालय पुगेका उनले झ्यालढोकासहित विभिन्न सामग्री तोडफोड गरेका हुन् ।
तर परिषदका कर्मचारीले त्यसरी कारबाही गर्न नमिल्ने बताएपछि उहाँले तोडफोड गरेको पाईएको छ । तोडफोडबारे थाहा पाएर आएको प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
नुरप्रसाद छोराको हत्या आरोपीलाई कारबाहीको माग गर्दै विगत ९ वर्षदेखी अनशनमा बस्दै आइ रहनु भएकी गंगामाया अधिकारीका जेठा छोरा हुन् ।