गोरखा, २५ साउन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले आसन्न चुनावमा गोरखा क्षेत्र नम्वर २ बाबुराम भट्टराईलाई छोड्न नसकिने बताउनु भएको छ।
बिहिबार नेपाल प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले यस पालि क्षेत्र नम्वर २ बाबुरामलाई छाड्न नसकिने बताउनु भयो ।
२०७४ सालको निर्वाचनमा क्षेत्र नम्वर २ मा डा. बाबुराम भट्टराईलाई सहयोग गरेर चुनाव जितायौँ’, उहाँले भन्नुभयो, ‘तर, निर्वाचित भएर गएपछि उहाँले कांग्रेसप्रति गरेको व्यवहारले कार्यकर्ताको मन कुँडिएको छ । ’२०७४ मा गोरखा २ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई कांग्रेसले समर्थन गरेको थियो।
यसपालि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन गर्ने र गोरखामा एक—एक क्षेत्र बाँड्ने तयारी गरिएको पाण्डेले बताउनु भयो।
उहाँले जिल्लनमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र बराबर लिने गरी कांग्रेस—माओवादीबीच चुनावी तालमेल हुने बताउनु भयो। गोरखामा प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा क्षेत्र ४ वटा छ।
गोरखा १ प्रतिनिधि सभा क्षेत्र माओवादीलाई छाड्ने र गोरखा २ कांग्रेसले राख्ने तयारी गरेको भए पनि कुन क्षेत्र कसले लिने भन्ने बिषयमा भने निर्णय हुन बाँकी रहेको छ। क्षेत्र नम्वर २ कांग्रेसको दावी स्वभाविक रहेको तर निणर्य पार्टीले गर्ने उहाँले बताउनु भयो ।