काठमाडौं, २६ साउन । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ विरूद्धको युद्धमाथि विजय हासिल गरेको घोषणा गर्नु भएको छ ।
झण्डै दुई सातासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले बुधबार यस्तो घोषणा गर्नु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उहाँले भाइरसमाथि आफूहरूले चमकदार विजय घोषणा गरेको भन्दै उत्तर कोरियालीहरूको अदम्य दृढता को प्रशंसा गर्नु भयो ।
महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो। उक्त घोषण सँगै उत्तर कोरियामा लगाएका सबै प्रतिबन्ध हटेका छन् । ओमिक्रोन देखिएपछि उहाँले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पार्नु भएको थियो ।
यसै बीच किम आफैं ज्वरोले ग्रस्त हुनु भएको थियो । उहाँले सुरुमा परीक्षण नै नगरी ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गर्नु भएको थियो । उहाँकी बहिनीका अनुसार किमलाई कोरोना प्रकोपको समयमा ज्वरोले ग्रस्त पारेर गम्भीर बिरामी बनाएको थियो ।
उहाँ उच्च ज्वरोबाट गम्भीर बिरामी भए पनि आफूले हेरचाह गर्नुपर्ने जनताको बारेमा सोच्दै एक क्षण पनि सुत्न सक्नु भएन । महामारीविरूद्धको युद्ध सामना गरेर विजयी प्राप्त गर्नु भएको उहाँकी बहिनीले बताउनु भएको छ ।
किमले उत्तरमा प्रकोप भित्रनुमा दक्षिण कोरियाको हात रहेको आरोप लगाउनु भएको छ । उत्तर कोरियामा हालसम्म कोरोना भाइरसबाट ७४ जनाको ज्यान गएको बताइएको छ।