दाङ, २६ साउन। दाङमा एक जना शिक्षकले आफ्नी छोरीसँग प्रेम गर्न खोजेको भन्दै विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।
राजपुर गाउँपालिका वडा नं. ३ स्थित जनज्योति माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्ने १९ वर्षीय मन्साराम यादवलाई सोही विद्यालयका निमावि राहत शिक्षक पाटेश्वर यादवले निर्घात कुटपिट गरेका हुन्।
कटुपिटबाट घाइते मन्सारामको नेपालगन्जस्थित नर्सिंङ होममा उपचार भइरहेको छ।
शिक्षक यादवले सोही विद्यालयमा पढ्ने १९ वर्षकी आफ्नी छोरीसँग प्रेम गर्न खोजेको भन्दै छोरीलाई फोन गर्न लगाइ एकान्तमा बोलाएर पाँच जना मिलेर चारैतिरबाट घेरा हाली निर्घात कुटपिट गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनु भयो।
कुटाइ खाएका विद्यार्थीको तर्फबाट आफन्तले इलाका प्रहरी कार्यालय गढवामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन्। इप्रका गढवाकी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले पीडित विद्यार्थीको तर्फबाट परेको निवेदनमा मन्सारामले केटी र आफूबीच प्रेम सम्बन्ध रहेको हुँदा त्यही बहानामा केटीमार्फत् आफूलाई राति एकान्तस्थलमा बोलाएर नियन्त्रणमा लिइ ज्यान मार्ने उद्योगले आक्रमण भएको भनेर जाहेरी दिएका छन्।
प्रहरी निरीक्षक केसीका अनुसार घटना साउन २१ गते राती दश बजेतिरको हो। घटनाबारे थाहा पाएर प्रहरी राती नै पुगी उद्धार गरे घाइतेलाई लमही अस्पताल पुर्याएको केसीले जानकारी दिनुभयो । कुटपिटबाट मन्सारामको अनुहारलगायत शरिरका विभिन्न भागमा गहिरो निलडाम तथा घाउ रहेको उहाँले बताउनु भयो।
कुटपिटमा संलग्नमध्ये केटीका बुवा तथा शिक्षक ३७ वर्षीय पाटेश्वर यादव र उनका दाजु ४० वर्षीय धिरबहादुर यादवलाई साउन २३ गते नियन्त्रणमा लिइएको छ। केसीका अनुसार कुटपिटमा संलग्नमध्ये उनीहरूका तीन छोराहरू फरार रहेको तथा खोजी कार्य जारी रहेको बताएको छ।