गोरखा,२३ साउन । गोरखाको मनकामना केबुलकार मर्मत संभारका लागि आजबाट ६ साता लामो समयसम्म बन्द भएको छ ।
एनालग प्रविधिमा रहेको केबुलकार डिजिटल प्रविधिमा लानको लागि साउन २३ गतेदेखि भाद्र मसान्तसम्मको लागि बन्द गरिएको हो ।
केबलकार मर्मतका लागि अष्ट्रेलियाबाट प्राविधिकहरू आइतबार नै चेरेशमा आइसकेको सोमबार बिहानैदेखी काम शुरु भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयाे ।
उहाँका अनुसार बन्द अवधी भित्र केबललाई घुमाउन प्रयोग भएको मुख्य बेरिङ, कारका सबै ग्रिप फेर्ने र टावर नम्बर २, ३, ५ र ६ नम्बरको टावरको ओभरहल सर्भिसिङका साथै कारका सबै ह्याङगरहरु चेकजाँच हुने छन् ।
सञ्चालक मध्ये एक राजेशबावु श्रेष्ठका अनुसार स्तरोन्नतिका लागि ६ हप्ता लाग्ने प्रारम्भिक प्रक्षेपण गरेर सोही अनुसारको तयारी थालीएकाे भएता पनि चाढै नै काम सम्पन्न भएको खण्डमा सोही अनुसार केबुलकार सञ्चालनमा आउने पनि जानकारी दिनु भयाे ।
सञ्चालनको २ दशक पार गरेको केबुलकारले विश्व बजारमा एनालग प्रविधि हराउदै गएको र डिजिटल प्रविधि आउन थालेकोले सोही अनुरुप केबुलकारलाई ढाल्न खोजिएको सञ्चालन श्रेष्ठले बताउनु भयाे।
०५५ सालमा मंसिर ८ गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको केबुलकारले यो अवधीमा १ करोड ६४ लाख तिर्थ यात्रीले केबुलकार प्रयोग गरेको नायब महाप्रबन्धक शेरचनले बताउनु भयाे ।
मर्मत लगत्तै केबुलकार असोज १ गतेबाट सञ्चालनमा आउने छ ।