रुकम, २२ साउन । रुकुम पश्चिममा अरिंगालको टोकाइबाट एक पुरुषको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१, का ३८ वर्षीय सुवर्ण सुनारको अरिंगालले टोकेर मृत्यु भएको हो ।
तीन दिनअघि अरिंगालले टोकेपछि बिरामी भएका सुनारको आइतबार उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सल्यानको श्रीनगरमा मृत्यु भएको हो ।
अन्य साथीहरूसँगै सल्यानको बाँफुखोलामा अरिंगालको गोला झार्न गएका सुनारलाई अरिंगालले टोकेको थियो । घाइते सुनारलाई तीन दिनसम्म त्रिवेणी गाउँपालिका–६, झुल्नेटास्थित एक निजी स्वास्थ्य क्लिनिकमा राखेर उपचार गरिएको थियो ।
अरिंगालले टोकेपछि उहाँको शरीरमा ५३ ठाउँमा अरिंगालले चिलेको बताइएको छ । त्यहाँ उपचार गर्दा ठीक नभएपछि मात्रै नेपालगञ्ज पठाइएको थियो । सुनार त्रिवेणी गाउँपालिकाका कर संकलक पनि हुनु हुन्थ्यो । उहाँले सल्यान र रुकुम पश्चिमको सिमाना खौलामा बसेर कर संकलनको काम गर्नु हुन्थ्यो ।