गोरखा २२ साउन । पूर्वप्रधानमन्त्री तथा भर्खरै गठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको निकट पात्रको रुपमा चिनिनु हुन्छ नेता डम्बर खतिवडा । जनता समाजबादी पार्टी नेपालमा रहदा डा. भट्टराईलाई नजिक पात्र खतिवडा भट्टराईले नयाँ पार्टी गठन गरेपछि सन्तुष्ट हुनुहुन्न । डा. भट्टराईले नेपाल समाजवादी पार्टी नेपालको औपचारिक गठन गरेको भोलिपल्ट आइतबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईको पार्टी र भविस्य प्रति चार बिश्लेषण सार्वजनिक गर्नुभएको छ ।
उहाँले आफु करिब ८ बर्ष सहकार्य गरेको समुहले नेपाल समाजवादी पार्टी गठन गरिरहेको सन्दर्भमा आफ्नो राजनीतिक बुझाई र अडान प्रष्ट पार्नु अधिकार र कर्तव्य रहेको भन्दै भट्टराई अबको मंसिरको निर्वाचनपछि राजनीतिबाट सन्यास लिने दावी गर्नुभएको छ । “मेरो अनुभव र बुझाईमा यो समूह र विशेषतः यसका मुल नेता डा.बाबुराम भट्टराई अहिले चौरास्ता, चार मनस्थितिमा हुनुहुन्छ । यसलाई एकप्रकारको महा दुबिधा (द ग्रेट डिलेमा) भन्न सकिन्छ।” उहाँले भन्नुभएको छ ।
खतिवडाले डा भट्टराई अब कि नेकपा (मसाल) नेता मोहनविक्रम सिंहको प्युठान र चित्रबहादुरको बागलुङमा जस्तै गोर्खा र सर्लाहीमा सीमित प्रभाव भएको एउटा सानो दलका रुपमा खुम्चिनु रहने, वा कथित समाजवादी केन्द्रको नाममा कुनै कम्युनिस्ट समूह वा कम्युनिस्ट समुहहरुको एकतामा सामेल भई विलयन हुनुको बिकल्प नभएको उल्लेख गर्नुभएको छ । त्यस बाहेक अन्य दुई बिकल्प भनेको डा भट्टराई मंसिरपछि राजनीतिक सन्यासमा जानू र समूह नै तितरबितर हुनु वा बृहत् अर्थमा बैकल्पिक राजनीतिको पुनर्गठनका लागि एक घटकका रुपमा योगदान गर्नु मात्र रहेको खतिवडाको बिश्लेषण रहेको छ ।
भट्टराईले नेतृत्व गरेको समुहले एक्लै अब बैकल्पिक राजनीतिको पुनर्गठन र नेतृत्व गर्न नसक्ने स्पसट पार्दै उहाँले तर चाहेमा नयाँ र बृहत परिप्रेक्ष्यमा योगदान गर्ने घटक भने हुन सक्ने तर्क गर्नुभएको छ । खतिवडाले यी ४ मध्ये कुन बाटोमा जान्छ भन्ने प्रष्ट नहुन्जेलसम्म आफु पार्टीको सदस्य मात्र भएर बस्ने समेत उल्लेख गर्नूभएको छ । ” यसको अनुमानित अबधि मंसिर मसान्तसम्म हो । नेतृत्वमा किन बसिन भने अहिलेको मोडेलको पुनर्गठनमा मेरो सहमति थिएन र त्यसको नैतिक बोझ उठाउने सामर्थ्य मसंग रहेन । नेतृत्वमा बस्दा अहिलेको मोडेलमा मेरो पनि समर्थन छ भन्ने बुझिन्थ्यो।” उहाँले लेख्नुभएको छ ।