पाल्पा, २१ साउन । रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । शुक्रबार बेलुका ७ बजेतिर रामपुर–५, स्थित कालीगण्डकी कोरिडोर अमराइमा लु १ ज ४१३३ नम्बरको जिप र लु १ ह ४१३८ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा रामपुर–५, मटेरीमा डेरा लिइ बस्ने ४५ वर्षका चोकबहादुर ढेँगा रहनुभएको छ । जिप र अटो आपसमा ठोक्किदा गम्भीर घाइते हुनुभएका ढेँगाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी रामपुर–३, का ३७ वर्षीय सुरेन्द्र थापा, सोही स्थानका १० वर्षीया अन्जली थापा र १२ वर्षकी पुष्पा थापा घाइते हुनुभएको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।