काठमाडौं, १९ साउन । नयाँदिल्ली — धार्मिक यात्राका क्रममा अयोध्या पुग्नु भएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दिल्ली पुगेर राजनीतिक भेटवार्ता थाल्नुभएको छ । बुधबार अपराह्न भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेट गर्नु भएका निधिले भारतका सडक परिवहनमन्त्री नितिन गडकरीसँग भेटघाट गर्नु भएको हो ।
मन्त्रीसँगको भेटमा उहाँले दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मालाई पनि सहभागी गराउनु भएको छ । निधि र गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ । कलकत्ता बन्दरगाह देखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गर्नु भएको छ ।
मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्तिमन्त्री गजेन्द्र सिंह सेखावतसँग पनि भेटघाट भएको छ । भेटमा दुवै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रणलगायत विषयमा छलफल भएको दाहालले जानकारी दिनुभयो ।