झापा, १८ साउन । झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ ।
कमलखोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय उज्वल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता हुनु भएको थियो ।
उज्वल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनु भएको थियो । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उहाँको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुनधुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो ।