गोरखा, १७ साउन । भीमसेन थापा गाउँपालिकाको बिकास सम्बृद्धिको बिषयमा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा सहितको टोलीले मंगलबार पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री जर्नादन शर्मा (प्रभाकर) संग छलफल गरेको छ । गाउँपालिकाको बिकास निर्माण बिषयमा छलफल गर्न नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश समितिका सदस्य समेत रहनुभएका गाउँपालिका अध्यक्ष बन्जरा सहितको टोली काठमाण्डौ पुगेको हो ।

पूर्वप्रधानमन्त्री प्रचण्डसंग भएको भेटमा अध्यक्ष बन्जराले भीमसेन गाउँपालिकालाई समाजबाद उन्मुख नुमना गाउँपालिका निर्माणका लागि योजना निर्माण गरेर काम सुरु गरेको भन्दै केन्द्रीय सरकारबाट आबश्यक सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँले संघिय सरकारबाट पालिकाका लागि बिनियोजित बजेट सन्तोषजनक नभएकाले पहल गरिदिन पनि अध्यक्ष बन्जराले प्रचण्डलाई अनुरोध गर्नुभयो ।
जवाफमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनताको भावना र चाहानालाई बुझेर स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै गाउँपालिका अध्यक्ष बन्जरा सहितको टोलीले मंगलबार नै संघिय सरकारका अर्थमन्त्री जर्नादन शर्मासंग पनि भेटघाट र छलफल गरेको छ ।
अर्थमन्त्री शर्मासंगको भेटपछि सामुहिक तस्विर खिचाउदै भीसमेन थापा गाउँपालिका अध्यक्ष बन्जरा लगायतका नेताहरु
भेटमा अर्थमन्त्री शर्मासंगको गाउँपालिका अध्यक्ष बन्जराले गाउँपालिकाले साना तथा घरेलु उद्योगको निर्माण गरि रोजगारीको सृजना गर्ने तर्फ आफुहरुको जोड रहेको भन्दै संघिय सरकारका तर्फ सहयोग हुने अपेक्षा व्यक्त गर्नुृभयो । उहाँले गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र ४ मा बर्खाका बेला सवारी एम्बुलेन्स समेत गुड्न नसक्ने खालका कच्ची सडक रहेकाले त्यसलाई कालोपत्रे गर्नुपर्ने आबश्यकता रहेको भन्दै आबश्यक बजेटको व्यवस्था गर्न समेत माग गर्नुभयो ।
त्यस्तै बुढीगण्डकी डुवान क्षेत्रका बिस्थापितहरुको पुर्नस्थापनाका र आबश्यक बस्ती निर्माण लगायतका बिषयमा पनि अध्यक्ष बन्जराले अर्थमन्त्रीको ध्यानकर्षण गराउनु भएको थियो । भेटमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण धिताल, चुडामणी खड्का, गण्डकी प्रदेश समितिका सदस्य प्रेमचन्द्र श्रेष्ठ, नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपार्टी समितिका अध्यक्ष सुजन पाण्डे (बिनोद) गाउँपार्टी समितिका उपाध्यक्ष समेत रहनु भएका वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, गाउँपालिका समितिका उपाध्यक्ष सागर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।