काठमाडौं, १७ साउन । म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका—२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिनुभयो।
उहाँका अनुसार पहिरोले तीन वटा घर बगाएको छ। एउटा घरका पाँच जनाको मृत्यु र अर्कोमा बस्ने दुई जना घाइते छन्। अर्को एउटा घर भने खाली नै थियो।
मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उहाँकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मी छन्।
घाइतेहरू भने ६५ वर्षीय गोठे विक र उहाँकी श्रीमती गोरी विक छन्। उनीहरूको अवस्था सामान्य नै रहेको प्रहरी नायब उपरीक्षक भारतीले बताउनु भयो।
पहिरोले घर पुरिएको भन्दै बिहान करिब ७ बजे प्रहरीलाई खबर गरिएको थियो। खबर पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो।
पहिरोले गोठहरू पनि पुरिएका छन्। कतिपय चौपायहरू मृत र बेपत्ता समेत छन्। प्रहरीका अनुसार एउटा भैंसी मरेको छ। एउटा राँगो र खच्चड भने बेपत्ता भएको छ ।