गोरखा, १५ साउन । गोरखा नगरपालिकामा कार्यरत ५ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज गरेको एन्टिजेन परिक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो ।
रुघा, खोकी र जरो आएका कारण शुक्रबारदेखी घर बिदामा बसेका कर्मचारीहरुको आज गरिएको एन्टिजेन परिक्षण क्रममा संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार १ जना महिला र १० जना पुरुष कर्मचारीमा गरिएको एन्टिजेन परिक्षण क्रममा ५ जना पुरुष कर्मचारीहरुमा संक्रमण देखिएको हो ।
त्यस्तै गरी, आइतबार नै गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १ जना पुरुषमा संक्रमण देखिएको छ । अस्पतालका सूचना अधिकारी कृण्ण ढकालका अनुसार ३ जना महिला र २ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १ जना पुरुषमा संक्रमण देखिएको हो ।
यता स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले दिनु भएको जानकारी अनुसार ०७९ साल साउन १ गते यता मात्र जिल्लाको विभिन्न स्थानिय तहमा १३९ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ३४ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये ११ जनाले कोरोना जित्न सफल भएका छन् भने अहिले जिल्ला भित्र २३ जना सक्रिय संक्रमित रहेको पनि फोकल पर्सन अर्यालले बताउनु भयो।
प्राप्त तथ्यांक अनुसार गोरखा नगरपालिकामा ९ जना, पालुङटार नगरपालिकामा ६ जना, भीमसेन थापा, सिरानचोक र आरुघाट गाउँपालिकामा १–१ जना र शहिद लखन गाउँपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् ।