गोरखा ११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गोरखाबाट ५० भन्दा बढी मुद्दा परेको छ । यीमध्ये सबैभन्दा धेरै उजुरी स्थानीय तहको रहेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा गोरखाबाट ५० उजुरी दर्ता भएको थियो भने अघिल्लो वर्षबाट २९ वटा उजुरी जिम्मेवारी सरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ ।
स्थानीय तहतर्फ ४४ वटा उजुरी परेको सुचना अधिकारी राजु कुँवरले जानकारी दिनुभयो ।स्थानीय तहको तर्फबाट ४४ वटा उजुरीमध्य ३४ वटा उजुरी फस्र्यौट भइसकेको र १० वटा फस्र्यौट हुन बाँकी रहेको अधिकारी कुँवरले बताउनु भयो ।
कार्यालयको तथ्यांक अनुसार स्थानीय तह संघीय मामिलातर्फ २६ वटा उजुरी परेको थियो । तीमध्य २० वटा उजुरी फस्र्यौट भइसकेको र ६ वटा उजुरी बाँकी रहेको छ । स्थानीय तहको शिक्षातर्फ १८ वटा उजुरी परेकोमा १४ वटा फस्र्यौट भइसकेको र ४ वटा बाँकी रहेको छ ।