Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बाबुरामको नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’


2.1K
Shares

बाबुरामको नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’

काठमाडौं, ९ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा पर्नुभएका जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाउनु भएको छ ।

भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठका अनुसार दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको बताइएको हो ।

सो नाम निर्वाचन आयोगमा समेत पठाइसकिएको र आयोग पनि सकारात्मक रहेको भट्टराई पक्षका नेताहरूको भनाई छ । अधिकारीले समावेशी लोकतान्त्रिक पार्टी बाबुराम पक्षलाई दिने भएको छ । उहाँसँग कुराकानी चलिरहेको भट्टराई पक्षका एक नेताले जानकारी दिनुभयो । पार्टीको नाम फेरेर आँखा चुनाव चिन्ह राखेर नयाँ पार्टी दर्ता गराउने प्रक्रिया अगाडि बढाउने तयारी रहेको स्रोतले जनाएको छ ।

यता पार्टीका नेता प्रशान्त सिंहले भने पार्टी गठनबारे अहिले कुनै कुरा टुङ्गो नलागेको बताउँदै आफूहरू छलफलकै क्रममा रहेको बताउनु भयो । ‘विभिन्न नाममा छलफल चलिरहेको छ, आयोगसँग पनि परामर्श लिने काम भइरहेको छ । केही दिनमै सबै कुराको टुङ्गो लाग्छ होला,’ उहाँले भन्नुभयो, ‘नेपाल समाजवादी पार्टी नाममा लगभग सबैको सहमति छ । तर त्यसलाई अन्तिम रूपमा दिन बाँकी छ ।’

यता, डा. भट्टराईले कार्यकारी भूमिकामा नरहने भनिसकेपछि अध्यक्ष को रहने बारे पनि पार्टीमा छलफल चलिरहेको छ । बाबुरामले आफू कार्यकारी अध्यक्षमा नबस्ने संघीय परिषद् वा त्यस्तै कुनै पद सृजना गरेर अभिभावकको भूमिकामा रहने बताउनु भए पछि पार्टीमा अध्यक्षको खोजी सुरु भएको हो ।

अध्यक्षको टुङ्गो नलागेका कारण नयाँ पार्टीको लागि कार्यसमिति बनाउन ढिलो भइरहेको छ । भट्टराईले नयाँ पार्टीमा तीनजना अध्यक्ष राख्ने प्रस्ताव गर्नु भएको छ। एकजना खस आर्य, अर्को जनजाति र तेस्रो मधेसीबाट अध्यक्ष राख्ने प्रस्ताव उनको रहेको छ । मधेसीबाट महेन्द्र राय यादव वा राजकिशोर यादवमध्ये एक जना राख्ने, जनजातिबाट हिसिला यमि वा गङ्गा श्रेष्ठमध्येबाट एक जना राख्ने विषयमा छलफल भइरहेको छ ।

खस आर्यको बारेमा अझै टुङ्गो नलागेको ती नेताले बताउनु भयो । बाबुराम पक्षमा रहेका महेन्द्र राय यादव जिल्ला रहनु भएका कारण यसबारे थप छलफल हुन पाएको छैन । सबै नेताहरू काठमाडौँ फर्केपछि यस विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology