काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले वैधानिक बैठक आफूले राखेको बताउनु भएको छ। आफू पक्षको केन्द्रीय समिति बैठकमा बोल्दै भट्टराईले विचार संगठन जोगाएर ल्याएकाले वैधानिक बैठक समेत आफ्नो भएको बताउनु भएको हो।
‘जसपा वैकल्पिक शक्ति भनेर निर्माण गरेको पार्टी हो । यो पार्टीलाई बचाउँदै यहाँसम्म ल्याउने मूल पङ्क्ति हामीसँग छ । यो बैठकमा कति सङ्ख्या छ भन्ने निरूपण हुँदै जाला । मलाई लाग्छ सङ्ख्याको बहुमत पनि हामीसँगै छ’ भट्टराईले भन्नु भयो, ‘वैचारिक हिसाबले मूल मर्म हो । सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद मूल आधार तत्त्व हुन । जसको परिभाषा हामीले नै गरेका थियौ । यो पार्टी स्थापना गराउने यो पार्टीलाई फुटबाट जोगाएर यहाँसम्म ल्याउने यहाँ छौ ।’
यदि कसैले आफूले राखेको बैठक अवैधानिक भन्छ भने इतिहासलाई बङ्ग्याउने र झुटो बोल्ने काम हुने भट्टराईले बताउनु भयो । ‘यदि कसैले यो बैठकलाई अवैध छ भन्छ भने तिनले जस्तो इतिहासलाई बङ्ग्याउने काम झुट बोल्ने काम कसैले गर्ने छैन ’ भट्टराईले भन्नु भयो ।