काठमाडौं, २८ असार। राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महंगिका कारण जनता आक्रान्त भएको जानकारी दिनुभयो ।
उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मूल्य वृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरु मन्द गतिमा भएको उल्लेख गर्नु भयो ।
सांसद विश्वकर्माले ठेकेदारहरुको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरु रोकिएको भन्दै उनीहरुलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने बताउनु भयो साथै आयातलाई कम गर्दै लानुपर्ने उहाँको भनाई छ ।