Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपालमा पहिलो पटक ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ को संक्रमण पुष्टि


1.5K
Shares

नेपालमा पहिलो पटक ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ को संक्रमण पुष्टि

काठमाडौं, १९ असार । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको पुष्टि गर्नु भयो ।

उहाँका अनुसार संक्रमित व्यक्तिको ‘हिस्ट्री’ भन्ने खुल्न सकेको छैन । अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको अस्पतालले जनाएको छ । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन बढिरहेको छ ।

दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, र्जमनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ । जनस्वास्थ्यविद्हरू स्थिर रहेको संक्रमित संख्या दुई सातायता झण्डै चार गुणाले बढ्नुमा ‘बीए फाइभ’ले मद्धत पुर्‍याएको बताउँछन् ।

अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनु भयो ।

तर, ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिसकेको छैन । बीए फाइभ’ उपप्रजातिले कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसकिने डा. पुन बताउँनु भएको छ ।

विज्ञका अनुसार ओमिक्रोनको अन्य भेरियन्टको संक्रमण भएका मानिसहरूमा पनि पुनः बीए फोर र बीए फाइभ उपप्रजातिको ओमिक्रोन देखिएको छ ।

नयाँ उपप्रजातिले पनि वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने जोखिम यथावत रहेको उहाँले बताउनु भयो ।

ओमिक्रोनले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने डा. पुनको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अहिले देखिएको संक्रमण ओमिक्रोन भेरियन्टको पुरानै प्रजाति हो वा होइन भन्नेबारे अनुवांशिक (जीन सिक्वेन्सिङ) भइरहेको जनाएको छ । प्रयोगशलाकी निर्देशक डा. रुना झाका अनुसार जिन सिक्वेन्सिङको रिपोर्ट सोमबार (भोलि) आउनेछ । साभार /अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology